
जेठ । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको अद्यावधिक नक्सा बुधबार सार्वजनिक गरेको छ ।
बुधबार दिउँसो भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा उक्त नक्सा सार्वजनिक गरिएको हो । सिंहदरबारस्थित मन्त्रलायमा भूमि व्यवस्थामन्त्री पद्मकुमारी अर्यालले आज पत्रकार सम्मेलन गरी सो नक्सा सार्वजनिक गरेकी हुन् ।
नक्सामा नेपालको उत्तरी, पूर्वीय, पश्चिमी र दक्षिणी अन्तर्राष्ट्रिय सीमासहित राजनीतिक र प्रशासनिक प्रबन्ध पनि समेटिएको छ । सरकारले यो नक्साका आधारमा निशानछाप र लोगोसमेत प्रयोगमा ल्याउने निर्णय गरेको छ । यसका लागि संविधानको अनुसूचीमा संशोधन गर्न संसद्मा विधेयक पेश गर्ने तयारी पनि गरिएको छ ।
नयाँ नक्सामा अन्तर्राष्ट्रिय सीमानामा खासगरी पश्चिम उत्तरी क्षेत्रमा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको छ भने नक्सामा सङ्घीयताअनुरूप प्रदेश र स्थानीय तह पनि समेटिएको छ । गत सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण पद्मा अर्यालले उक्त नक्सा पेश गरेकी थिइन् । सोही दिन मन्त्रिपरिषद्ले पारित गरेको थियो ।
नेपालले नयाँ राजनीतिक नक्सा पारित गरेसँगै नेपालको क्षेत्रफल पनि बढ्ने भएको छ । अहिलेसम्म नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर छ । अबको नक्सामा ३ सय ३५ वर्ग किलोमिटर बढ्ने बताइएको छ ।



