
मोरङ, ६ जेठ । प्रदेश १ मा थप ११ जनामा कोरोना भाइरस पुष्टि भएको छ । मंगलबार झापाका ९ र सुनसरीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोशी अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्राले झापाका ९ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरिन् । उनीहरूको कोशी अस्पताल विराटनगरकै प्रयोगशालामा पीसीआर परीक्षण गरिएको थियो ।
उनीहरू झापाको केचनकवल गाउँपालिकाका हुन् । यहाँका एक युवकमा सोमबार कोरोना पुष्टि भएको थियो । संक्रमण भएका युवकको टोलका ३३ जनाको कोशी अस्पतालमा परीक्षण गर्दा थप ९ जनामा पोजेटिभ देखिएको हो । त्यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका दुई जनामा कोरोना पोजेटिभ देखिएको छ ।
प्रतिष्ठानका सहायक प्रवक्ता डा. अशोक ऐरले सोमबार राति २ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए । कोरोना पोजेटिभ देखिनेमा इटहरीका १८ वर्षका युवक र अर्का व्यक्ति सशस्त्र प्रहरी कर्मचारी हुन् । योसँगै सुनसरीमा मात्र कोरोना संक्रमितको संख्या तीन पुगेको छ । झापामा कोरोना संक्रमितको संख्या १२ पुगेको छ भने प्रदेश १ मा संक्रमितको संख्या ५४ पुगेको छ ।



