काठमाडौँ, ५ जेठ । सरकारले भारतले अतिक्रमण गरी विवादित बनाएको लिम्पियाधुरा, कुटी, गुन्जी, नाभि, लिपुलेकसहितका क्षेत्र समेटेर नयाँ नक्सा स्वीकृत गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले तयार पारेको नक्सालाई अनुमोदन गरेको हो ।
सुगौली सन्धि अनुसार महाकालीपूर्व रहेका लिम्पियाधुरासहितको भूभाग नेपालको भएपनि लामो समयदेखि नेपालको नक्साबाट छुटेको थियो । पर्यटनमन्त्री योगेश भट्टराईले सोमबार साँझ यसबारे जानकारी गराएका हुन् ।
भारत सरकारले कालापानीसमेत अतिक्रमण गरेर आफ्नो सेना राख्ने, लिपुलेक हुँदै मानसरोवर जाने बाटो एकतर्फी रुपमा खोल्ने जस्ता कार्य गरेपछि नेपाल सरकारले असहमति जनाउँदै आएको छ । गत मंसिरमा भारतले नेपालको लिम्पियाधुरासमेत समेटेर आफ्नो राजनीतिक नक्सा जारी गरेपछि दुई देशबीचको सीमा विवाद सतहमा आएको थियो ।
सरकारले शुक्रबार जारी गरेको नीति तथा कार्यक्रममा नेपालको भूभाग समेटेर नयाँ नक्सा जारी गर्ने र अतिक्रमित नेपाली भूमिबाट भारतको उपस्थिति हटाउने घोषणा गरेको थियो ।



