बाँके, ५ जेठ । क्वारेन्टाइनमै रहेको अवस्थामा एक युवकको कोरोना सङ्क्रमणबाट निधन भएपछि बाँकेको नरैनापुर क्षेत्रमा शोकमा ढुबेको छ ।

सदरमुकाम नेपालगञ्जदेखि करिब ३५ किलोमिटर दक्षिण पूर्वराप्तीपारी अवस्थित यो नगरपालिका वडा नं ५ मटेहियास्थित नयाँबस्तीका २५ वर्षीय युवाको आइतबार बिहान निधन भएको थियो । शोकमग्न रहेको अवस्थामा स्थानीय मृतकको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएपछि गाउँमा सङ्क्रमण फैलिएको हुनसक्ने आशङ्कामा त्रसित समेत हुन पुगेको स्थानीय अगुवा सोहनलाल यादवले जानकारी दिए ।

उनका अनुसार क्वारेन्टाइनमा स्वास्थ्य र व्यवस्थापनको पक्ष फितलो रहेको गुनासोसमेत आएको छ । सो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले अचानक भएको अकल्पनीय निधनले सिङ्गो गाउँपालिका शोकमा ढुबेको बताए ।

भारतको महाराष्ट्र मुम्बइबाट गत वैशाख ३० गते बाँके आएलगत्तै सो गाउँपालिका वडा नं ५ मटेहियाको भगवानपुरस्थित दीपेन्द्र प्राविमा रहेको क्वारेन्टाइनमा बस्दै आएका युवाको आइतबार बिहान दुई पटक बान्ता गरेको केही समयपछि मृत्यु भएको जनाइएको छ । शनिबार नै कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिए पनि आइतबार अपराह्न आएको उनको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका स्थानीय स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । रिपोर्ट नआउँदासम्म आइतबार दिनभर शव क्वारेन्टाइनमै राखिएको थियो ।

कोरोना सङ्क्रमणबाट मृत्यु भएको पुष्टि भएपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले स्थानीय बासिन्दा र परिवारको सहमतिमा मृत्यु भएको स्थानदेखि करिब तीन किलोमिटरको दूरीमा रहेको शवदहन क्षेत्रमा धार्मिक संस्कारअनुसार दाहसंस्कार गर्ने निर्णय गरिएको थियो । स्थानीय र परिवारका व्यक्ति शोक र त्रासका कारण अन्त्येष्टिमा सहभागी हुन सकेनन् ।

बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले शवलाई परिवारका सदस्यभन्दा टाढै रोहवरमा राखेर धार्मिक परम्पराअनुसार नेपाली सेना, नेपाल प्रहरीलगायत सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको टोलीले कोरोना सङ्क्रमितको शव व्यवस्थापन गर्नेबारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार गरेको कार्य्विधिका आधारमा अन्त्येष्टि गरिएको जानकारी दिए ।

उनले नरैनापुर क्षेत्रलाई चारैतिरबाट आवतजावत बन्द गरी सङ्क्रमण न्यूनीकरणका लागि उच्च सुरक्षा सतर्कता अपनाइएको जानकारी दिए । मृतक युवासहित भारतबाट नेपाल प्रवेश गरेका व्यक्तिको पिसिआर परीक्षण गर्दा यसअघि यहाँका आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । ती मध्ये तीन जना दीपेन्द्र प्राथमिक विद्यालयकै क्वारेन्टाइनमा थिए । उक्त क्वारेन्टाइनमा अहिले ३८ जनालाई राखिएको छ ।

सङ्क्रमित व्यक्तिको सम्पर्कमा रहेका आधारमा नरैनापुरका विभिन्न क्वारेन्टाइनबाट शनिबार २६३ जनाको स्वाब सङ्कलन गरिएको छ । सङ्कलित स्वाबको पिसिआर रिपोर्ट सोमबार आउने भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. प्रकाश थापाले जानकारी दिए ।

तराई मानव अधिकार रक्षक सञ्जाल नेपालगञ्जका प्रमुख आलम खानले नरैनापुरको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै क्वारेन्टाइन व्यवस्थापन र स्वास्थ्यकर्मीलाई आवश्यक सुरक्षा सामग्री पर्याप्तमात्रामा उपलब्ध गराउनुपर्ने सुझाव दिए । उनले मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन अपिलसमेत गरे । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.