वृजराज कुशवाहा, नवलपरासी, २ कार्तिक । नवलपरासीको दक्षिणी सीमावर्ती गाविस गेर्मीको कार्यालय भवनमा आगजनी गरिएको छ । आईतबार राति गरिएको आगजनीले कार्यालयको जिन्सी कोठामा क्षति पुगेको गाविस सचिव नन्दलाल कोहांरले जनाएका छन् । घटनास्थलबाट भूमिगत मधेशी सशस्त्र समूहको पर्चा फेला परेको छ ।
आगजनीले जिन्सीकोठामा रहेका महत्वपुर्ण कागजातहरु जलेर नष्ट भएको, कोठामा रहेका प्रिन्टर मेशिन, फोटोकपी मेशिन, फोटो क्यामेरा जलेर नष्ट भएको गाविस सचिव कोहांरको भनाइ छ । आ.व. ०७०/०७१ भन्दा अघिका सबै कागजात र गाविस कार्यालयले गरेको सिफारिश पत्रका प्रतिलिपीहरु जलेर नष्ट भएको उनले बताएका छन् ।
लेखा परिक्षण हुन बाँकी रहेका आ.व. ०७०/०७१ का आर्थिक कारोबारका कागजातहरु आफुसँगै राखेको हुनाले सुरक्षित रहेको गाविस सचिव कोहांरले बताए । उनले भने, “राति करिब साढे ३ बजेको समयमा आएका केही व्यक्तिहरुको समूहले ताला फोडेर जिन्सी कोठामा आगजनी गरेका हुन् ।” कोहांरले यस अघि उनलाई कसैको फोन, धम्की वा चेतावनी तथा चन्दा आदि कुनै प्रकारको दबाव नरेहेको स्पष्ट पारेका छन् ।
आगजनी कसले र किन गरिएको हो भन्ने स्पष्ट हुन नसकेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका डीएसपी अर्जुन रानाभाटले बताएका छन् । घटनाको प्रकृति हेर्दा केही कुरा शंकास्पद देखिएको उनको भनाई छ । यसबारे अनुसन्धान भइरहेको कोहारले जनाएका छन् । महत्वपूर्ण कागजात रहेको क्षेत्रमा मात्र आगजनी हुनु र ढोकाको ताल्चा फोडिएको दागधब्बा नदेखिनु तथा ताल्चासमेत फेला नपरेकोले घटना रहस्यमय हुन सक्ने अनुमान गरिएको उनले बताए ।
घटनास्थलमा भूमिगत सशस्त्र समुहको विज्ञप्ति छरिएको अवस्थामाभेटिएको छ । भेटिएको संयुक्त प्रेस विज्ञप्तिमा असोज ३ गते ल्याईएको संविधान नेपाली सेनाको बुट र बन्दुकको भरमा मधेशमाथि लादिएको उल्लेख गरिएको छ । स्वतन्त्र तराई मधेशमा भुमिगतले गरेको बहिष्कारको फायदा उठाउँदै नेपाली सेनाको बलमा संविधानसभाको दोश्रो निर्वाचन गराएको विज्ञप्तिमा उल्लेख छ । नेपाली सेना परिचालन गरी नरसंहार गरी मधेशीको लाशमाथि टेकेर संघीय गणतन्त्र नेपालको संविधान सेनाकै बलमा लाद्न दुस्साहस गरिएको र यसको सशक्त प्रतिरोध गर्नका लागि ३ सशस्त्र संगठन मिलेर संयूक्त मुक्ति मोर्चाको गठन गरिएको पुष्टि समेत गरिएको छ ।
छरिएका पर्चामा तराई मुक्ति मोर्चाका संयोजक जयकृष्ण गोईत, मधेश मुक्ति टाईगर्स तराईका अध्यक्ष राजन प्रताप प्रफुल्ल र तराई कोबराका अध्यक्ष नागराजको संयुक्त हस्ताक्षर रहेको स्थानीय प्रहरी चौकीका असई सञ्जय कुमार शर्माले जानकारी दिएका छन् । मधेश आन्दोलन चलिरहेको अवस्थाको मौका छोपेर यो घटना गराईएको हुन सक्ने अनुमान गरिएको असई शर्माले बताएका छन् ।
गाविस भवनामा गरिएको यस आगजनीले स्थानीयवासीमा त्रास सिर्जना गरेको छ ।




