वीरगञ्ज । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले कोरोना भाइरस (कोभिड–१९) महामरी बाट प्रभावित वीरगञ्जको अनुमगन गरेका छन् ।

वीरगंजमा कोरोना महामारीले उग्ररुप लिन थालेको बेलामा वीरगंज पुगेका मुख्यमन्त्री राउतले पर्साको समग्र अवस्था र सरकारले गर्नुपर्ने कामबारे सरोकारबालाहरुसँग सल्लाह गरेका छन् । साथै उनले कोरोना संक्रमितको उपचारका लागि कुनै कसर बाँकी नराख्न सरोकारवालाहरुलाई निर्देशन समेत दिए ।

उनले आइसोलेसन तथा क्वाइरेन्टाइनमा देखिएका समस्याहरु, आगामी दिनमा थपिन सक्ने संक्रमितको उपचारको तयारी, विदेशमा रहेका नागरिकहरुलाई फिर्ता ल्याउनु पर्ने अवस्थाको लागि गर्नुपर्ने तयारीहरुबारे छलफल समेत गरेका छन् ।

सरकारले हालै सबै जिल्लामा क्वारेन्टाइन स्थापना गर्ने बारे गरेको निर्णय कार्यान्वयनका लागि सम्भावित स्थलको पहिचान तथा स्थानीय राजनीतिक दल एवं सरोकारबालाहरुसँगको समन्वय र सहकार्यलाई निरन्तरता दिन समेत निर्देशन दिएका छन् ।

छलफलमा वीरगञ्ज महानगरका नगरप्रमुख विजय सरावगी, सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरे, प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर कार्की, नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट मदन उपाध्याय, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गंगा पन्त, नेपाल पत्रकार महासंघ प्रदेश २ का सभापति दीपेन्द्र चौहान लगायतको सहभागिता रहेको थियो ।

उक्त अवसरमा मुख्यमन्त्री राउतले पर्साको पोखरिया अस्पताललाई एम्बुलेन्स खरिदका लागि ३१ लाख २५ हजारको चेक समेत हस्तान्तरण गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.