
भारत, ३ जेठ । भारत उत्तर प्रदेशको औरैया जिल्लामा दुर्घटना हुँदा २४ मजदुरको मृत्यु भएको छ । आज बिहान घर फर्किरहेका मजदुर सवार ट्रक राजमार्गमा रोकिराखेको अकोट्रकसँग ठोक्किन पुगेको थियो ।
कानपुर प्रहरीले दुर्घटनामा ३५ जना घाइते भएको बताएको छ । यसमध्ये २० जनाको जिल्ला अस्पताल र गम्भीर रूपमा घाइते १५ जनालाई सैफई मेडिकल कलेजमा भर्ना गरिएको छ । प्रहरीका अनुसार दुवै ट्रकमा मजदुर सवार थिए । दिल्लीबाट आएको ट्रक चिया पिउनका लागि एक ढाबा अगाडि रोकेर राखिएको थियो । सो ट्रकसँग राजस्थानबाट आएको अर्को ट्रक ठोक्किन पुगेको थियो ।
राजस्थानबाट आएको ट्रकको ड्राइभर निदाएका कारण दुर्घटना भएको बताइएको छ । प्रत्यक्षदर्शीका अनुसार राजस्थानबाट आएको ट्रकमा चुनाको बोरा पनि थियो । दुर्घटनापछि ट्रक पल्टियो र मजदुरहरू चुनाको बोरामा दबिए ।
सो ट्रक राजस्थानबाट पश्चिम बंगाल जाँदै थियो । मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले ज्यान गुमाएका मजदुरको परिवारप्रति समवेदना प्रकट गरेका छन् ।



