काठमाडौं, २ जेठ । सरकारले आज आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम ल्याउने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले तयार गरेको नीति तथा कार्यक्रम राष्ट्रपति भण्डारीले प्रस्तुत गर्न लागेकी हुन् ।

दिउँसो ४ बजे बस्ने संसदको संयुक्त सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने संसद सचिवालयले जनाएको छ । कोरोना भाइरस महामारीका कारण विश्व अर्थतन्त्रमै ठूलो धक्का लागेका बेला वैदेशिक रोजगारीबाट ठूलो संख्यामा नेपाली फर्किने आकलन गरिएको छ ।

उनीहरूलाई रोजगारी दिलाउन कृषि तथा उद्योगका क्षेत्रमा गुणात्मक कार्यक्रम ल्याउनुपर्ने सुझाव विज्ञहरूले दिइरहेका छन् । नीति तथा कार्यक्रममा सरकारले आत्मनिर्भरता, औद्योगिक उत्पादन वृद्धि र निर्यातलाई जोड दिएको छ । स्वास्थ्य, शिक्षा, रोजगारी, कृषि, सिँचाइ जस्ता क्षेत्रलाई प्राथमिकतामा राखेर सरकारले नीति कार्यक्रम तयार गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरसको कारण सुस्ताएको अर्थतन्त्र उकास्न विशेष कार्यक्रम ल्याइने बताउँदै आएका छन् । नीति तथा कार्यक्रममा कोरोनाविरुद्ध लड्नका लागि स्वास्थ्य क्षेत्रमा विशेष व्यवस्था सहितको नीति आउने अपेक्षा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.