हुलाकी न्यूज, काठमाडौं, २ कार्तिक । वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनले आपुर्ति सहज गरेरै छाड्ने बताएका छन् । सोमबार रिपोर्टस क्लबको साक्षात्कारमा मन्त्री पुनले सरकार सबै किसिमका चुनौतीहरु झेलेर भएपनि जनताको दुःखकष्ट हटाइछाड्न प्रतिबद्ध रहेको बताए ।
उनले दशैंको समयमा जनताले दुःख झेल्नुपरेकाले आफू गम्भीर भएको भन्दै समस्या समाधानका लागि कुनै कसर बाँकी नराख्ने दृढता व्यक्त गरेका छन् ।
मन्त्री पुनले पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि सरकारले कुटनीतिकलगायत सबै विकल्प खोजेर योजना तयार गरिरहेको जनाएका छन् । उनले कार्यभार सम्हालेकै दिनबाट गम्भीर भएर जनताको दैनिक जीवनमा देखिएको समस्याको समाधानमा जुटिसकेको बताए ।
‘आपूर्तिमा आएको असहजताले जनता मर्कामा परेकाले म गम्भीर छु,’ नवनियुक्त मन्त्री पुनले भने, ‘सबै किसिमका उपाय अबलम्बन गरेर भएपनि आपूर्ति व्यवस्था सहज पारिछाड्नेछु ।’ आपूर्ति व्यवस्था कहिलेसम्म सहज हुनेबारे भने उनले केही बताएनन् ।
परराष्ट्रमन्त्री कमल थापा स्वदेश फर्कने बित्तिकै आन्तरिक छलफल गरी सरकारले आपूर्ति व्यवस्था सहज पार्नेबारे परिपक्व निर्णय लिएर अगाडि बढ्ने मन्त्री पुनले बताए ।



