
रौतहट, ३१ बैशाख । रौतहट जिल्ला प्रशासन कार्यालयले जिल्लालाई जेठ ५ गतेसम्म पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ ।
जिल्ला सुरक्षा समितिको बुधवार बसेको बैठकले आगामी ५ गतेसम्मका लागि लकडाउनलाई पूर्ण रूपमा कडाई गर्ने निर्णय गरेको हो । छिमेकी जिल्लाहरूमा कोरोनाका संक्रमितको संख्या ह्वात्तै बढेको र सोही परिस्थितिलाई मध्यनजर गर्दै यो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए । यो निर्णय भोलि बिहान १२ बजेदेखि लागू हुुने जनाइएको छ ।
बन्दका बेला सम्पूर्ण बजार, व्यवसाय तथा व्यापारिक प्रतिष्ठान बन्द रहने जनाइएको छ । अत्यावश्यक सामग्रीको आपूर्ति बिगतकै जस्तो होम डेलिभरीबाट गरिनेछ । साथै यसअघि बनाइएको सम्पूर्ण सवारी पास रद्द गरिएको छ ।
अत्यावश्यक कामका लागि जिल्ला बाहिर आवतजावत गर्दा यस जिल्लाका साथै सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिनुुपर्ने जनाइएको छ । बन्दको अवज्ञा गर्नेमाथि नियमानुसार कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको सूचनामा उल्लेख रहेको छ । यसैबीच रौतहटको कटहरिया, चन्द्रपुर, बृन्दाबनलगायत आधादर्जन स्थानीय तहले लकडाउनलाई पूर्णकडाई गर्ने निर्णय गरेका छन् ।



