
जनकपुरधाम । प्रदेश २ मा कोरोना संक्रमितको संख्यामा वृद्धि भएपछि प्रदेश सरकारले लकडाउनलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवको अध्यक्षतामा सम्पन्न उच्चस्तरीय बैठकले लकडाउनलाई थप प्रभावकारी बनाउने, सीमामा थप कडाई गर्ने, सीमापारिको ओहोरदोहोरलाई निरुत्साहित गर्न प्रचार प्रसारलाई तीब्र बनाउनेसहितको निर्णय गरेको छ ।
बैठकले सीमा पारी रहेको नेपाली नागरिकलाई स्वदेश ल्याउने सम्बन्धमा आबश्यक कार्यविधि बनाई दिन सङ्घ सरकारलाई आग्रह गर्ने र उनीहरुलाई स्वदेश ल्याउनु पर्ने अबस्थाका लागि प्रत्येक जिल्लामा थप तीन–तीन सय क्षमताको क्वारेन्टाइन तयारी अबस्थामा राख्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव जितेन्द्र यादवले जनाए ।
यसका साथै बैठकले कोरोना महामारी नियन्त्रणका लागि सङ्घ सरकारसँग थप बजेट माग गर्ने निर्णय समेत गरेको छ ।
बैठकमा प्रमुख सचिब अर्जुन पोखरेल, मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव जितेन्द्र यादव, प्रदेश सरकारका बिभिन्न मन्त्रालयका सचिवहरु, सुरक्षा निकायका प्रमुखहरु, धनुषा र महोत्तरीका प्रमुख जिल्ला अधिकारी सहितको सहभागिता रहेको थियो ।



