हुलाकी न्यूज, वीरगंज, १५ भदौ । वीरगंजमा आन्दोलनका क्रममा थप एक जनाको मृत्यु भएको छ । प्रहरीको गोलीले धर्मराज सिंहको मृत्यु भएको छ भने अर्का एक प्रदर्शनकारी चतुरी तिवारी गम्भीर घाईते छन् ।

तिवारीलाई हेलिकप्टरबाट काठमाडौं ल्याउन लागेको बताइएको छ । राधेमाई टोलको अवस्था निकै तनावग्रस्त बताइएको छ ।

पर्साका एसपी दिवेश लोहनीले हुलाकी न्यूजसँग कुरा गर्दै केहीको मृत्यु भएको खबर प्राप्त भएपनि विस्तृत विवरण आइ नसकेको बताएका छन् ।

उनले अस्पतालमा भीड अनियन्त्रित भएकोले सुरक्षाकर्मीले विस्तृत विवरण पठाउन नसकेको बताए ।

प्रहरी र प्रदर्शनकारीबिचको झडपमा अरु दर्जनौं घाईते भएको बताइएको छ । वीरगंजबाट पत्रकार पंकज दासले जनाए अनुसार वीरगंज र वरिपरिको अवस्था तनावग्रस्त छ ।

जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बिर्ता बाहेक अन्य सबै प्रहरी कार्यालय तथा प्रहरी बिट प्रदर्शनकारीले जलाईसकेका छन् ।
लगभग सबै जसो सरकारी कार्यालयमा तोडफोड र आगजनी गरिएको छ । कफ्र्यूका बिच पनि आन्दोलन जारी छ ।

त्यस्तै मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) का मजदुर फाँटका पर्सा अध्यक्ष मजिद देवानलाई पनि गोली लागेको छ । गणतान्त्रिकका नेताहरुका अनुसार देवानको पाखुरामा गोली लागेको छ र उनको अवस्था गभ्मिर रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.