वीरगञ्ज । कोरोना भाइरस (कोभिड–१९) संक्रमितहरुको संख्या बढ्न थालेपछि बारा र पर्सामा निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले मंगलबार साँझ ८ बजेदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । पर्सामा आज मात्रै ३९ जना संक्रमित भेटिएका छन् बारा जिल्लामा एक जना फेला परेका छन् ।

जिल्ला प्रशासन कार्यालय पर्साले औषधी उपचार र अन्य अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन नपाउने गरी निषेधाज्ञा जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी कोभिड १९ को संक्रमण रोकथाम एवं नियन्त्रण गर्न तथा जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न धेरै संक्रमण भएका र अति जोखिममा रहेका स्थानमा नेपाली सेना परिचालन गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

निषेधाज्ञाको समयमा शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दूध, विद्युत, दमकल, सञ्चार, भन्सार, आईसीपी, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स र औषधिजस्ता अति आवश्यक सेवाबाहेक सबै पसल, उद्योग, व्यवसाय र सेवा बन्द गर्ने प्रशासनले निर्णय गरेको छ ।

त्यस्तै स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक तथा निजी सवारी साधनमा रोक लगाइएको छ ।

भारतसँगको सीमा नाका र खुला सिमानाको जुनसुकै स्थानबाट पनि मानिस आउन निषेध गरिएको छ । उनीहरुलाई रोक्न सुरक्षाकर्मीको ब्यापक गस्ती बढाई एसिया डोमिनेसन गर्ने निर्णय पनि प्रशासन कार्यालयले गरेको छ ।

पर्सा जिल्लाबाट अन्य जिल्लामा र अन्य जिल्लामा पर्सा जिल्लाबाट हुने आवतजावत जेठ ५ गते राति १२ बजेसम्म बन्द गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.