
एजेन्सी, ३० वैशाख । रुसको एक अस्पतालमा आगलागी हुँदा पाँच कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।
मंगलबार सेन्ट पिटर्सबर्ग अस्पतालको सघन उपचार कक्षमा आगलागी भएको रुसी सञ्चारमाध्यमले जनाएका छन् । आगलागीबाट सघन उपचार कक्षमै उपचाररत कोभिड १९ संक्रमितको मृत्यु भएको हो ।
भेन्टिलेटरको तारमा गडबड भएपछि आगो सल्किएको जनाइएको छ । रुसी अधिकारीका अनुसार आगलागीपछि १ सय ५० जनाको उद्धार गरिएको छ ।
रुसमा हालैका दिनमा कोरोना संक्रमित तीव्र गतिले बढिरहेका छन् । पछिल्लो समय रुस अमेरिका र स्पेनपछिकै सबैभन्दा बढी कोरोना प्रभावित राष्ट्र बनेको छ ।



