
एजेन्सी, ३० वैशाख । भारतमा आजबाट यात्रुवाहक रेल सेवा सुरु गरिएको छ ।
रेलहरू पूर्ण क्षमतामा चल्ने जनाइएको छ । तर महिनौँदेखि यात्रा गर्न नपाएका कारण यात्रुहरूको चाप थेग्न गाह्रो भएको छ । टिकट लिनेहरूको चाप अत्यधिक भएपछि हावडादेखि नयाँ दिल्लीबीच चल्ने ट्रेन (रेल) को टिकट सोमबार बुकिङ खुला गरिएको २० मिनेटमै आगामी पाँच दिनको बुकिङ सकियो ।

त्यस्तै अवस्था मुम्बईदेखि नयाँदिल्ली मार्गमा चल्ने ट्रेनको लागि पनि भएको समाचार एजेन्सीहरूले जनाएका छन् । रेलमा यात्रीहरूले कसरी सामाजिक दूरी कायम राख्ने भन्ने यो यात्रु स्वयंमै भर पर्नेछ । तर रेलको गन्तव्य स्टेशनसम्म पुग्दा भने राज्यले यसको उत्तरदायित्व बहन गर्नुपर्नेछ ।
सोमबार राति ९ बजेसम्ममा ३० हजार सिट बुकिङ भइसकेको र मंगलबार बिहानसम्म करिब ५४ हजार यात्रीहरूले टिकट बुक गरिसकेको त्यहाँका रेल अधिकृतको भनाइ उद्धृत गर्दै इण्डियन एक्सप्रेसले लेखेको छ । यद्यपि प्राविधिक समस्याका कारण बुकिङ केही घण्टा स्थगित समेत गरिएको थियो ।
तर त्यहाँ रेल चलाउने कुराले चिन्ता समेत थपिएको छ । सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भिडियो कन्फरेन्समा धेरै राज्यका मुख्यमन्त्रीहरूले कोरोना संक्रमण बढिरहेको यस समयमा रेल चलाउनु ठीक नहुने भन्दै चिन्ता व्यक्त गरेका थिए ।



