काठमाडौं, ३० वैशाख । सरकारले विभिन्न पेशा र व्यवसायमा विदेशमा गएका नेपालीको भिसाको म्याद सकिएकै कारणले कानुनी जटिलता व्यहोर्न नपर्ने जनाएको छ ।

विदेशमा कोरोना संक्रमित नागरिकलाई सम्बन्धित देशको नागरिकसरह नै उपचारको व्यवस्थाका लागि सम्बन्धित देशलाई आग्रह गरिएकाले उपचारमा समस्या नदेखिएको सरकारको दाबी छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सबै ठाउँमा सहज अवस्था नभएपनि प्रवेशाज्ञाको म्याद सकिएर कानुनी झन्झट व्यहोर्नुनपर्ने व्यवस्था मिलाइएको बताए । कोरोनाको संक्रमणका कारण बिस्तारै रोजगारी गुमाउनेको संख्या बढ्दै गएको बताउँदै उनले नेपालीहरूले आफ्नो देश फर्कन पाउनुपर्छ भन्नेमा सरकार सचेत रहेको स्पष्ट पारे ।

हाल नेपाल फर्किने नेपालीको संख्या पाँच लाख ८८ हजार ७०० हुनसक्ने सरकारको अनुमान छ । खाडी मुलुकबाट तीन लाख २५ हजार र बाँकी भारतबाट नेपाली नागरिक फर्किने अनुमान छ ।

तीमध्ये तत्काल ल्याउन पर्ने संख्या दुई लाख १० हजार ८७१ रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । फर्कन चाहनेको प्राथमिकता निर्धारण र ल्याएपछि कहाँ–कसरी क्वारेन्टाइनमा राखेर व्यवस्थापन गर्ने भन्ने चुनौती छ ।

हाल देशभर तयार गरिएका ३५ हजार क्वारेन्टाइनमध्ये २५ हजार भरिएका छन् । रोजगारी गुमाएर स्वदेश फर्केकालाई रोजगारीमा कसरी जोड्ने भन्ने अर्को चुनौती हो । नेपालको कूल जनसंख्याको १५ प्रतिशत जनसंख्या मुलुक बाहिर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.