काठमाडौं, २७ वैशाख । भारतले नेपाल भूमि लिपुलेकमा सडक बनाएको विरोधमा विद्यार्थीहरूले भारतीय दूतावास अगाडि प्रदर्शन गरेका छन् ।

शनिबार विद्यार्थीहरूले काठमाडौंस्थित भारतीय दूतावास अगाडि लैनचौरमा प्लेकार्ड सहित प्रदर्शन गरेका हुन् । त्यस क्रममा केही विद्यार्थीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

सत्तारुढ नेकपा निकट अनेरास्ववियुका नेता सुदेश पराजुली, केन्द्रीय सदस्यहरू यशु लामा, महेश श्रेष्ठ, अशोक थापा, मेघनाथ चापागाईलगायत दुई दर्जन विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको अनेरास्ववियुले जनाएको छ ।

पक्राउ परेका अनेरास्ववियुका नेताले प्रहरीको भेनबाट नेपाली भूमि फिर्ता गर, लिपुलेक हाम्रो हो जस्ता नारा लगाएका थिए ।

भारतका रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार दिल्लीबाट भिडियो कन्फ्रेन्समार्फत् भारतको धार्चुलाबाट लिपुलेक तथा पिथौरागढबाट गुञ्जी पुग्ने मार्गको उद्घाटन गरेका हुन् । गुञ्जी र लिपुलेक नेपाली भूमि हुन् । भारतको यो कदमको नेपालमा तीव्र विरोध भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.