
चितवन, २७ वैशाख । पूर्वी चितवनको राप्ती नगरपालिका–५ चौकीडाँडामा प्रहरीमाथि आक्रमण भएको छ ।
गाँजा बरामद् गरेर फर्किँदै गरेको अवस्थामा स्थानीयबासीले प्रहरी टोलीमा आक्रमण गरेका हुन् । आक्रमण भएपछि प्रहरीले एक राउन्ड हवाई फायरसमेत गर्नुभएको थियो । राप्ती नगरपालिका–१२ बाट ३४ किलो गाँजा बरामद् गरेर फर्किरहेका बेला शुक्रबार राति करिब साढे ९ बजेतिर चौकीडाँडामा स्थानीयबासीले प्रहरीमाथि आक्रमण गरेका थिए ।
आक्रमणबाट प्रहरी जवान अवधेशप्रसाद यादव, लुकेश जर्घा र सुजन बराइली घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीयको आक्रमणबाट इलाका प्रहरी कार्यालय भण्डाराको बा. १ झ ७४६५ र रत्ननगर नगरपालिकाको बा. १२ च २७१ नम्बरको गाडीमा पनि क्षति पुगेको छ ।
आक्रमणमा संलग्न भएको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षीय रञ्जित वाइवा, २० वर्षीय सुमन वाइवा, २२ वर्षीय सञ्चराम घलान र ३५ वर्षीय धनबहादुर घलान छन् ।



