काठमाडौं, २७ वैशाख । नेपाल प्रहरीमाथि हातपात गर्ने चिनियाँ नागरिकहरूउपर मुद्दा चलाउने तयारी भएको छ ।

शुक्रवार स्वदेश फर्किन पाउनुपर्ने माग गर्दै निषेधित क्षेत्र सिंहदरबारमा प्रदर्शन गर्न पुगेका चिनियाँ नागरिकहरूले प्रहरीमाथि हातपात गरेका हुन् । प्रहरीमाथि हातपात गर्ने चार चिनियाँ नागरिकहरूमाथि अभद्र व्यवहारको मुद्दा चलाउने तयारी भएको महानगरी प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्र राठोरले जानकारी दिएका छन् ।

सिंहदरबार अगाडिबाट पक्राउ परेका ४७ जनामध्ये ४३ जनालाई शुक्रबार राति नै छोडिएको छ । निषेधित क्षेत्रमा धर्ना बसेका उनीहरूलाई प्रहरीले हटाउन खोज्दा दुई झडप भएको थियो ।

झडपमा महानगरीय प्रहरी वृत्त सिंहदरबारका डीएसपी हरि बस्नेतको टाउकोमा चोट लागेको थियो । अन्य केही प्रहरी तथा चिनियाँ नागरिक समेत सामान्य घाइते भएका थिए । झडपका क्रममा चिनियाँ नागरिकले नेपाली प्रहरीको बर्दी तान्नुका साथै मुक्का र लात्ती प्रहार गरेका थिए ।

ती चिनियाँ नागरिकहरू तीन देखि छ महिना अघि नै काम गर्न नेपाल आएका थिए । लकडाउन भएपछि यतै रोकिएका उनीहरूले केही समययता आफ्नो देश फर्किन पाउनुपर्ने भन्दै विभिन्न ठाँउमा धर्ना बस्ने गरेका छन् । यसअघि पनि उनीहरू नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप अगाडि धर्ना दिन गएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.