
काठमाडौं, २६ वैशाख । नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेलले चलाएको कार र मोटरसाइकल ठोक्किँदा काठमाडौंको रविभवनमा एक जनाको मृत्यु भएको छ ।
आज विहान भएको दुर्घटनामा परेर गम्भीर घाइते भएका मोटरसाइकल चालक मोरङका २३ वर्षीय टीकाराज गेलालको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो ।
कार चालक कलंकी स्युचाटारका ३९ वर्षीय लेफ्टिनेन्ट कर्णेल शिखर जबरा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जबरा आर्मी हेडक्वाटरमा कार्यरत छन् ।
बा. ७२ प ८१७२ नम्बरको मोटरसाइकल र बा. २१ च ४३४७ कार ठोक्किँदा दुर्घटना भएको थियो । कलंकीबाट कालिमाटी जाँदै गरेको कार र कालीमाटीबाट कलंकीतर्फ आइरहेको मोटरसाइकल ठोक्किएका हुन् ।
मृतक गेलाल मासु पसलमा काम गर्दै आएका थिए । कालिमाटीबाट मासु लिएर फर्कंदै थिए ।



