
काठमाडौं, २५ वैशाख । संघीय संसदको बजेट अधिवेशन शुक्रबार सुरु हुने भएको छ ।
संघीय संसदको दुबै सदनको वर्षे अधिवेशन वैशाख २६ गते शुक्रबार दिउँसो ४ बजेका लागि बोलाइएको हो । कोरोना भाइरसको त्रासबीच बस्न लागेको बैठकमा विशेष सावधानी अपनाइँदैछ । बैठकमा प्रवेश अघि सांसद्हरूको स्वाब परीक्षण, हात धुने, स्यानिटाइजर लगाउने, ज्वरो नाप्ने, ज्वरो देखिए संसद भवनकै आइसोलेसन कक्षमा राख्ने र अस्पताल लैजानेलगायतको व्यवस्था गरिएको छ ।
यसका लागि आज बिहानदेखि सांसद तथा सचिवालयका कर्मचारीको कोरोना भाइरसको पीसीआर परीक्षण गर्न स्वाव संकलन गरिएको छ । सबै सांसदको स्वाब संकलन गरी परीक्षणका गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइनेछ । सांसद र कर्मचारी समेत गरी पाँच सय जनाको पीसीआर परीक्षण गर्ने तयारी छ ।
प्रतिनिधि सभामा दुई सय ७५ र राष्ट्रिय सभामा ५८ जना सांसद छन् । मंगलबारको कार्यब्यवस्था परामर्श समितिले संसद बैठक सञ्चालन गर्दा उच्च सर्तकता अपनाउने निर्णय गरेको थियो । संसद भवन प्रवेश गर्दा हात धुने, स्यानिटाइजर लगाउने व्यवस्था हुनेछ ।
त्यसपछि ज्वरो नाप्ने, ज्वरो देखिए संसद भवनकै आइसोलेसन कक्षमा राख्ने र अस्पताल लैजाने व्यवस्था गरिएको छ । सांसद र संसद सचिवालयका कर्मचारीले मास्क अनिवार्य लगाउनुपर्छ । संसद बैठकमा एउटा सांसदले बोलेपछि माइक स्यानिटाइज गरेर मात्र अर्को सांसदले माइक समात्नुपर्नेछ ।
सभाहलमा हरेक टेबलमा स्यानिटाइजर राखिनेछ । सांसदहरूलाई छलफलमा भाग लिँदा ड्यासमा नगई बसेकै ठाउँबाट बोल्ने व्यवस्था गर्न पनि कार्यव्यवस्था परामर्श समितिले सुझाव दिएको थियो ।



