
काठमाडौँ, २४ वैशाख । नेपाली नागरिकलाई स्वदेश आउन नदिएकोमा सत्तारुढ दल नेकपाका सांसद भीम रावलले आपत्ति जनाएका छन् ।
भारतका विभिन्न सहरबाट फर्केर सीमामा पुगेका हजारौंलाई ४५ दिनभन्दा बढी समयदेखि सीमामै अड्काएर राखेकोमा सांसद रावलले आपत्ति जनाएका हुन् ।
प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बुधबारको बैठकमा सांसद रावलले सुदूरपश्चिमको बनबासालगायतका क्षेत्रमा नेपाली नागरिक रोकिएको र उनीहरू स्वस्थ हुँदा पनि सरकारले आउन नदिएको भन्दै आक्रोश व्यक्त गरे ।
उनले भने ‘आफ्नै नागरिकलाई स्वदेश फर्किन नदिने अत्याचारपूर्ण काम बन्द गरियोस् । सीमामा बसेकाहरूलाई कोरोना छैन तैपनि सीमामा रहेका नेपालीलाई के कारणले रोकियो ? यो अत्याचार अन्त्य गरियोस् ।’
उनले प्रश्न गरे–‘कतिपय देशले आफ्ना नागरिकलाई विमान पठाएर आफ्नो देश लगिरहेको छ । हामी ४५ दिन सीमामा अलपत्र परेका नेपालीलाई ल्याउन नसक्ने ?’



