
काठमाडौं, २३ वैशाख । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले पद तथा गोपनियताको सपथ लिएका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले मंगलबार गौतमलाई संघीय संसदको महासचिवको पद तथा गोपनियताको सपथ खुवाएका हुन् । समारोहमा राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष, संसदीय दलका नेता, सचेतक र समितिका सभापतिहरूको समेत उपस्थिति रहेको थियो ।
मनोहरप्रसाद भट्टराईले पाँचवर्षे कार्यकाल समाप्त गरेर अवकाश पाएपछि यो पद रिक्त थियो । यो पदमा राष्ट्रियसभामा अध्यक्ष गणेश तिमल्सिना र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संयुक्त सिफारिस गरेका थिए ।
सिफारिसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई नियुक्त गरेकी थिइन् ।
हाल सचिवालयको वरिष्ठ सचिव रहेका गौतम २०२३ साल भदौ २३ गते साविक लामाचौर गाविस– ५ कास्कीमा जन्मेका हुन् । गौतमले संसद सचिवालयमा २५ वर्षदेखि सेवा गर्दै आएका थिए । २०५१ सालमा महान्यायाधीवक्ता कार्यालयमा नायव सुब्बाबाट सरकारी सेवा प्रवेश गरेका गौतमले सोही वर्ष संसद सचिवालयमा शाखा अधिकृत भएका थिए। गौतम २०५९ सालमा उपसचिव, २०६३ सालमा सहसचिव र २०७५ साल असारमा सचिवमा बढुवा भएका थिए ।



