
काठमाडौं, २३ वैशाख । लकडाउनको अबको स्वरूपबारे निर्णय गर्न कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बस्ने भएको छ ।
यस विषयमा निर्णय गर्न आज प्रधानमन्त्री निवास बालुवाटारमा समितिको बैठक बस्ने समितिका सदस्य तथा प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिएका छन् । यसअघि यो बैठक मन्त्रिपरिषद् कार्यालयमा बस्दै आएको थियो ।
आजको बैठक बालुवाटारमा बस्ने भएकाले प्रधानमन्त्री केपीशर्मा ओली पनि सहभागी हुने जनाइएको छ । बैठकले लकडाउन खुकुलो पार्ने अथवा कडाइ गर्ने विषयमा निर्णय गर्न सक्ने बिडारीले जानकारी दिए ।
समितिले कोरोनाको सङ्क्रमण नदेखिएका ठाउँमा लकडाउन केही खुकुलो बनाउने र सङ्क्रमण देखिएका ठाउँमा कडाइ गर्ने गरी कार्ययोजना बनाइरहेको छ । यसअघि, सोमबार बसेको समितिको बैठकमा पनि लकडाउनको स्वरूपबारे छलफल गरेको थियो ।
संक्रमण बढ्दै गएकाले लकडाउनका विषयमा आन्तरिक गृहकार्य र विश्लेषणको कार्य जारी रहेको सचिव विडारीले जानकारी दिएका थिए । कोरोना रोकथामका लागि सरकारले चैत ११ गते लकडाउन घोषणा गरेको थियो ।
पछिल्लो पटक थपिएको लकडाउनको अवधि यही बिहीबार सकिँदैछ । नेपालमा अहिलेसम्म ८२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये १६ जना निको भएका छन् ।



