
काठमाडौं, १८ वैशाख । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सामाजिक सञ्जाल मार्फत जथाभावी गाली गरेको आरोपमा एक पत्रकार पक्राउ परेका छन् ।
रेडियो नेपालको बोर्ड सदस्य रहेका पक्रकार दिपक पाठक भक्तपुरबाट पक्राउ परेका हुन् । उनी प्रधानमन्त्री केपी शर्मा ओली नजिकका पत्रकार भनेर चिनिन्छन् । उनलाई यसअघि प्रधानमन्त्री ओलीले प्रेस काउन्सिलको सदस्य बनाउन समेत प्रस्ताव गरेका थिए ।
उनीविरुद्ध मुद्दा परेपछि सर्बोच्च अदालतले सो नियुक्ती बदर गरेको थियो । उनलाई प्रधानमन्त्री ओलीकै निर्देशनमा रेडियो नेपालको बोर्ड सदस्य बनाइएको थियो । केही दिनअघि प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले पाठकले सामाजिक सञ्जालमार्फत दाहालविरुद्ध गाली गलौज गरेको आरोप लगाउँदै छानविन र कारवाहीका लागि उजुरी दिएका थिए ।
उजुरीपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पाठकलाई यो विषयमा स्पष्टीकरण समेत सोधेको थियो ।



