
पर्सा, १६ वैशाख । नेपालमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार तीन जनामा कोरोना पुष्टि भएको प्रदेश २ सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिएका हुन् ।
जसमा दुई जना बारा र एक जना पर्साका छन् । उनीहरूलाई उपचारका लागि नारायणी अस्पतालमा ल्याउन लागिएको अस्पतालका डा.निरज सिंहले हुलाकी न्यूजलाई जानकारी दिएका छन् ।
गत आइतबार पनि वीरगन्जका दुई जना व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो । तीमध्ये एक जना महानगरका सफाई गर्ने कर्मचारी हुन् ।
रौतहटका दुई जना संक्रमितको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । जसमा १६ जना निको भएका छन् ।



