हुलाकी न्यूज, काठमाडौं, २ कार्तिक । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले प्रदेशको सीमांकनलगायतका विषयमा सरकार र तीन दल स्पष्ट दृष्टिकोणका साथ आए वार्ता हुनसक्ने बताएको छ । तर, जारी आन्दोलन बीचमै रोकेर वार्तामा आउन नसकिने उसले स्पष्ट पारेको छ ।
प्रधानमन्त्री केपी ओलीले आन्दोलन रोकेर वार्तामा आउन आह्वान गरेको पत्रको जवाफ दिँदै मोर्चाले आफू वार्ता विरोधी नरहेको प्रष्ट पारेको हो ।
प्रधानमन्त्री ओलीको मधेश आन्दोलनका कारण देशमा अभाव सिर्जना भई जनताले दुख भोगिरहेको आरोपलाई खण्डन गर्दै मोर्चाले राज्यबाट गरिएको उपेक्षाको कारण यस्तो असहज परिस्थिति उत्पन्न भएको स्पष्ट पारेको छ ।
मोर्चाको पत्रमा लेखिएको छ, आन्दोलनको अवधिमा भएको करिब चार दर्जनको शहादत र असंख्य घाईते तथा व्यापक दमन पछि पनि राज्य पक्षको उदासीनताले बाध्य भई आन्दोलन र आमहडतालनाकाबन्दीको चरणमा प्रवेश गरेको हो र यसबाट उत्पन्न भएको असहज परिस्थिति राज्यपक्षद्वारा गरिएको उपेक्षाको नै परिणाम हो भन्नेमा दुई मत हुन सक्दैन ।
मोर्चाले जारी आन्दोलनको निश्चित उद्देष्य र लक्ष्य रहेको स्मरण गराउँदै माग पुरा नहुँदै आन्दोलन रोकेर मधेशी जनतासँग विश्वासघात गर्न नसक्ने स्पष्ट पारेको छ ।




