नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित रामग्राम नगरपालिकालाई न्यून गुणस्तरीय चामल बिक्री गरेको आरोपमा मिल मालिकविरुद्ध मुद्दा दायर भएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले राजेश राइस मिलका सञ्चालक पटवारी बनियाँविरुद्ध जिल्ला अदालत परासीमा मुद्दा दायर गरेको हो । गत चैत २८ गते नगरपालिकाले राहत सामग्रीमा वितरण गरेको चामल खान योग्य नभएको भन्दै राहत पाएकाहरूले विरोध जनाएका थिए ।

कार्यालयले चामलको नमूना संकलन गरी परीक्षण गर्दा चामल न्यून गुणस्तरको भएको रिपोर्ट दिएको थियो । खाद्य सामग्री उत्पादन र बिक्री वितरणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग वा कार्यालयमा दर्ता गर्नुपर्ने प्रावधान भए पनि उद्योगसंँग खाद्य सामग्री बिक्री वितरण गर्ने अनुज्ञापत्रसमेत नभएको पाइएकाले मुद्दा दायर गरिएको कार्यालय जनाएको छ ।

खाद्य ऐन २०२३ उल्लंघन गरी न्यून गणस्तरको खाद्य पदार्थ बिक्री वितरण गरेको कसूरमा उनीमाथि जिल्ला अदालत परासीमा मुद्दा दायर गरिएको छ भने लाइसेन्स नलिई खाद्य सामग्री उत्पादन र बिक्रिवितरण गरेका हकमा व्यवसायीलाई जिल्ला प्रशासन कार्यालयले जरिवाना गर्न सक्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.