
जनकपुरधाम, १३ वैशाख । यस वर्ष लकडाउनका कारण जानकी नवमीमा उत्सव नहुने भएको छ । कोरोना भाइरसको असर जनकपुरधाममा हरेक वर्ष हुँदै आएको जानकी नवमी उत्सवमा समेत परेको छ ।
प्रत्येक वर्ष धुमधामका साथ मनाइने जानकी नवमीमा यस वर्ष कुनै विशेष कार्यक्रम गरिएको छैन । मन्दिरभित्र जमघटबिना सामान्य पूजा–आराधना गरिनेछ ।
यस वर्ष सामान्य तरिकाले जानकी जन्मोत्सव मनाइने जानकी मन्दिरका सहायक महन्त रामरोशन दासले बताए । जानकी नवमी प्रत्येक वर्ष वैशाख शुक्ल नवमीसम्म नौ दिन मनाउने गरिन्छ । जानकी जन्मोत्सवको अवसरमा ९ दिनसम्म पूजा अराधना गरिनेछ ।
वैशाख १२ गते घटस्थापना हुनेछ भने जन्मोत्सव मन्दिरभित्रै वैशाख २० गते हुनेछ । सहायक महन्थ दासले विश्वभरी कोरोना महामारी फैलिएकोले जानकी जन्मोत्सवका दिन घर घरमै विशेष आरती गर्न आग्रह गरेका छन् ।



