
सुनसरी, १३ वैशाख । सुनसरीको धरानमा एक सय शैयाको कोरोना विशेष अस्पताल बनाउन सुरु गरिएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पुनःस्थापना केन्द्रलाई एक साताभित्र सञ्चालनमा ल्याउने गरी कोरोना विशेष अस्पताल बनाउन सुरु गरिएको हो ।
पहिलो चरणमा एक सय शैयासहितको ‘आइसोलेसन’ कोरोना उपचार केन्द्र निर्माण गरिने अस्पतालले जनाएको छ । प्रदेश नम्बर–१ मा कोरोना संक्रमणको दर बढिरहेको छ । प्रदेशमा हालसम्म २९ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।
प्रदेशका विभिन्न जिल्लामा रहेका ‘क्वारेन्टाइन’मा एक हजार १२० जना रहेका छन् । ३० जना आइसोलेसनमा छन् । होम क्वारेन्टाइनमा पाँच हजार ३८७ जना छन् ।



