
पर्सा, १३ वैशाख । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत चारजना कोरोना संक्रमितको पीसीआर परीक्षणको तेस्रो रिपोर्ट नेगेटिभ आएको छ ।
छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका एक युवकको तेस्रो रिपोर्ट नेगेटिभ आएको हो ।
तेस्रो पटक पीसीआर परीक्षणका लागि चार जना संक्रमितको स्वाबको नमूना संकलन गरी तीन दिनअघि हेटौंडास्थित प्रादेशिक प्रयोगशाला पठाइएको थियो ।
शुक्रबार रिपोर्ट नेगेटिभ आएको जानकारी प्रयोगशालाले अस्पताललाई दिएको छ । चारै जनाको पछिल्लो रिर्पाेट नेगेटिभ आए पनि पुनः अन्तिम पटकका लागि शुक्रबार थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि पठाइएको अस्पतालले जनाएको छ ।
यो रिपोर्टको नतिजाको आधारमा चार जना संक्रमितलाई डिस्चार्ज गर्ने तयारी भइरहेको छ । नारायणी अस्पतालमा पाँच संक्रमित उपचाररत छन् ।
चार जनाको तेस्रो रिपोर्ट नेगेटिभ आएपछि सर्लाहीका एक जनालाई भने छुट्टै राखेर उपचार गरिएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले डिस्चार्जका लागि अन्तिम रिपोर्टको पर्खाइमा रहेको बताए ।



