
ओखलढुंगा, १२ वैशाख । ओखलढुंगाको क्वारेन्टाइनमा बसेकी एक अविवाहित युवती मृत शिशुलाई जन्म दिएकी छन् ।
उदयपुरबाट आएर ओखलढुंगाको रामपुरस्थित क्वारेन्टाइनमा बसेकी मोलुङ गाउँपालिका–१ की १६ वर्षीया अविवाहित युवतीले क्वारेन्टाइनमै बच्चा जन्माएकी हुन् ।
मंगलबार साँझ क्वारेन्टाइनमा ल्याइएकी युवतीको स्वास्थ्यमा बुधबार समस्या देखिएको थियो । केही समयपछि मृत शिशु जन्मिएको गाउँपालिकाका सूचना अधिकारी गोपाल नेपालले जानकारी दिए ।
शिशुको मृत्यु भइसकेको र आमाको स्वास्थ्यमा थप समस्या देखिएपछि ओखलढुंगा सामुदायिक अस्पताल पठाइएको उनको भनाइ छ ।
अहिले युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । शिशुको शव परीक्षण भने गरिएको छैन ।



