
एजेन्सी, १२ वैशाख । कोरोना भाइरसको उपचारका अनेक उपाय खोजी भइरहँदा बेलायतमा दुईजना संक्रमितलाई पहिलो पटक भ्याक्सिन दिइएको छ ।
बिबिसीका अनुसार बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा भ्याक्सिन दिइएको हो । अक्सफोर्डमा नै तयार पारिएको भ्याक्सिन पहिलो पटक स्वयंसेवकलाई दिइएको हो ।
बेलायतमा परीक्षणका रूपमा भ्याक्सिन दिएको पनि बताइएको छ । साथै निकट भविष्यमै थप ८ सय जनालाई भ्याक्सिन दिइने बताइएको छ । कोरोना भाइरसको संक्रमण तीब्र रूपमा बेलायतमा पनि फैलिन थालेपछि तीन महिनामा यो भ्याक्सिन तयार पारेको बताइएको छ ।
अहिले भ्याक्सिन ट्राइलका रुपमा दिइएको छ । यसले दिने परिणामले भ्याक्सिन सफल भए/नभए पत्ता लाग्नेछ ।
बेलायतमा कोरोना भाइरसका संक्रमितको संख्या १ लाख ३८ हजार भन्दा धेरै पुगिसकेको छ । यस्तै १८ हजार ७ सय भन्दा बढीको मृत्यु भएको छ ।



