
काठमाडौं, ११ वैशाख । एकीकृत भएका समाजवादी पार्टी र राष्ट्रिय जनता पार्र्टीले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका छन् ।
बिहान ११ बजे १६ मिनेटमा दुई दलबीच एकताका लागि भएको सहमति पत्र दर्ता गराइएको राजपाका प्रवक्ता केशव झाले जानकरी दिए । ‘हामीले सहमति पत्र सहितको निवेदन दिएका छौँ । हामीले १३८८ नंम्बरको दर्ता पाएका छौँ’, झाले भने, ’अन्य कागजात हामी लकडाउनपछि बुझाउँछौँ ।’
राजपा र समाजवादी पार्टीबीच बुधबार अबेर पार्टी एकीकरणको सहमति भएको थियो । अब एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टै हुनेछ ।
त्यस्तै झण्डा मसाल अंकित यसअघिको समाजवादीको हुनेछ भने चुनाव चिह्न राजपाको छाता हुनेछ । दर्ताका लागि आयोगमा बुझाइएको निवेदनमा राजपाका तर्फबाट अध्यक्ष मण्डलका नेता शरदसिंह भण्डारी र समाजवादीका तर्फबाट उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।



