एजेन्सी, ७ वैशाख । भारतमा कोरोना भाइरस संक्रमितको संख्या २४ घण्टामा १३ सय ७० थपिएसँगै संक्रमितको संख्या साढे १५ हजार नाघेको छ । शनिबार भारतमा ३५ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान गुमानेको संख्या ५ सय २१ पुगेको छ । त्यहाँ संक्रमित निको हुनेको संख्या पनि बढ्दै गएको छ । आइतबार बिहानसम्म भारतमा २ हजार ४ सय बढी व्यक्ति उपचारपछि घर फर्किसकेका छन् ।

१२ हजार ७ सय संक्रमितको उपचार जारी रहँदा हालसम्म ३ लाख ३५ हजार बढीमा कोरोना परीक्षण गरिसकिएको छ । यता, अमेरिकामा पछिल्लो २४ घण्टामा सबैभन्दा बढी १८ सय ६७ को मृत्यु भएको छ । अमेरिकामा २९ हजार संक्रमित थपिएका छन् ।

यसैबीच डब्लुएचओ, विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै ऋण सहायताको लागि आग्रह गरेका छन् । डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन् ।

विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । चीनबाट सुरु भएको नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन ।

अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.