
काठमाडौं, ६ वैशाख । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ९ सय ९१ नयाँ सङ्क्रमितहरू थपिएका छन् ।
सङ्क्रमितहरूको संख्या १४ हजार ३ सय ७८ जना पुगेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा देखिएका यी सङ्क्रमितहरूमध्ये १ हजार ९९२ जना भने उपचारपछि निको भएर फर्किएका छन् ।
मन्त्रालयले दिएको जानकारीअनुसार हाल ११ हजार ९०६ कोरोनाका सङ्क्रमित बिरामी अस्पतालमा उपचाररत छन् । मन्त्रालयले दिएको जानकारीअनुसार भारतभर गएको २४ घन्टायता मृत्यु हुनेको संख्या ४३ रहेको छ । योसँगै भारतमा कोरोना सङ्क्रमण बाट ज्यान जानेको संख्या ४ सय ८० पुगेको छ ।
शुरुदेखि नै भारतको महाराष्ट्र कोरोना भाइरसबाट अत्यन्त प्रभावित राज्यको रुपमा रहेको छ । महाराष्ट्र राज्यमा मात्र सङ्क्रमितहरूको संख्या ३ हजार ३ सय २३ जना पुगेको छ । यसैबीच महाराष्ट्रमा ३ सय ३१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । महाराष्ट्रमा हालसम्म कोरोना भाइरस सङ्क्रमणबाट २ सय १ जनाको मृत्यु भइसकेको छ ।
महाराष्ट्रपछि कोरोना सङ्क्रमणको दोस्रो स्थानमा दिल्ली रहेको छ । यहाँ १ हजार ७ सय ७ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । दिल्लीमा कोरोना भाइरस सङ्क्रमणबाट ४२ जनाको मृत्यु भइसकेको छ । यसैबीच ७२ जना भने उपचारपछि घर फर्किएका छन् ।
भारतीय राज्य तमिलनाडु तेस्रो स्थानमा रहेको छ । तमिलनाडुमा कोरोना सङ्क्रमण भएका व्यक्तिको संख्या १ हजार ३२३ जना पुगेको छ । यी सङ्क्रमितहरु मध्ये १ सय ८३ जना भने उपचारपछि घर फर्किएका छन् । तमिलनाडूमा कोरोना सङ्क्रमणबाट १५ जनाको मृत्यु भइसकेको छ ।
कोराना प्रकोपको सङ्क्रमणको चौथो स्थानमा राजस्थान रहेको र यहाँ १ हजार २२९ कोरोना सङ्क्रमित रहेका छन् । ती मध्ये १ सय ८३ जना उपचारपछि घर फर्किसकेका छन् भने एघार जनाको मृत्यु भएको छ ।
त्यसैगरी भारतको मध्यप्रदेश कोरोना भाइरसका सङ्क्रमणको पाँचौ स्थानमा रहेको यहाँ १ हजार ३ सय १० जना सक्रमित रहेका छन् । मध्यप्रदेशमा यस सङ्क्रमित मध्ये ६९ जना निको भएर घर फर्किएका छन् भने ६९ जनाको मृत्यु भएको छ । यस प्रकोपबाट ज्यान गुमाउनेको संख्या मध्ये प्रदेशमा महाराष्ट्रपछि दोस्रो स्थानमा रहेको पाइएको छ ।
उत्तर प्रदेशमा कोभिड–१९ सक्रमण ८०५ जनामा रहेको छ भने केरलामा ३९६ यो सङ्क्रमण देखिएको छ । तेलङ्गना, गुजरात र छत्तीसगलगायतका राज्यहरुमा कोरोनाका सङ्क्रमितहरु भेटिएका छन् ।
गएको २४ घन्टायता भारतमा पहिलेको तुलनामा धेरै सङ्क्रमित भेटिएका जनाइएको छ । भारतमा सङ्क्रमण बढदै गएपछि सरकारले कोरोना भाइरसको सङ्क्रमण रोक्नको लकडाउनलाई आगामी मे महिनाको ३ तारिखसम्म लम्ब्याएको घोषणा गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत महिना घोषणा गर्नु भएको २१ दिने लकडाउनको अवधि समाप्त हुँदै गरेको अवस्था पुनः १९ दिनको लकडाउनलाई जोडिएको घोषणा गरेका थिए । रासस



