
बाँके, ५ वैशाख । जमुनाह नाकास्थित दशगजा क्षेत्रको एकान्तबासमा रहेका नेपाली नागरिकले घर जान पाउनुपर्ने माग गर्दै आज बसमा तोडफोड गरेका छन् ।
पन्ध्र दिन एकान्तबासमा रहेका सबै जनाको कोभिड–१९ परीक्षण रिपोर्ट नेगेटिभ आए पनि थप केही दिन एकान्तबासमै बस्नुपर्ने भएपछि उनीहरू आक्रोशित भएका हुन् । आज गरिएको स्वास्थ्य परीक्षणमा एकान्तबासमा रहेका १८१ जनाकै कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।
रिपोर्ट नेगेटिभ आएपछि नेपालगञ्ज उपमहानगरपालिकाले दशगजा क्षेत्रमा बस पु¥याएर सबैलाई घर पठाउने तयारी गरिरहेका बेला बाँके प्रशासन र गृहमन्त्रालयले उनीहरूलाई तत्काल घर पठाउन नमिल्ने भन्दै रोक लगाएको थियो ।
घर जाने तयारीमा रहेका उनीहरूलाई गृहमन्त्रालयको आदेशअनुसार प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले एकान्तबास नछोड्न निर्देशन दिएपछि उनीहरू आक्रोशित भएका थिए ।
उनीहरूले उपमहानगरपालिकाद्वारा एकान्तबास स्थलमा पु¥याएका तीन बसमा तोडफोड गरी ढोका र झ्यालको सिसा फुटाइदिएका छन् । गाडीमा तोडफोड गर्न लागेपछि सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।
भारतका विभिन्न शहरबाट आएका २६ जिल्लाका १८१ जनालाई विगत १५ दिनदेखि दशगजा क्षेत्रमा अस्थायी एकान्तबासमा राखिएको थियो । एकान्तबासमा दाङका ३१, बाँकेका २७, जुम्लाका १५, बर्दियाका १४, रोल्पाका १३, रुकुमका १०, दैलेखका १०, सल्यानका नौ, सुर्खेतका सात, अछामका पाँच, झापाका पाँच, डोल्पाका तीन, प्यूठानका दुई, स्याङ्जाका दुई, नवलपरासीका दुई, मुगुका दुई, सप्तरीका एक, उदयपुरका एक, रुपन्देहीका एक र अर्घाखाँचीका एकलगायत छन् । रासस



