
एजेन्सी, ४ बैशाख । भारतमा कोरोना भाइरसका संक्रमितहरू बढदै गएका छन् । बिहीबारसम्म भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १२ हजार ३ सय ८० जना पुगेको छ ।
जसमध्ये १ हजार ४ सय ८९ जना निको भएर घर फर्किएका छन् । भारतमा १० हजार ४ सय ७७ कोरोनाका संक्रमितको उपचार भइरहेको छ । गएको २४ घन्टा यता मृत्यु हुनेको संख्या ३७ रहेको पाइएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ४ सय १४ पुगेको छ ।
पछिल्ला केही दिनमा कोविड १९ का संक्रमितहरुको संख्या बढ्दै गएको सरकारको भनाइ छ । भारतमा शुरुदेखि सबैभन्दा बढी संक्रमित महाराष्ट्र राज्यमा देखिएका छन् । बिहीबार पनि यो क्रम जारी नै रहेको सो मन्त्रालयले जानकारी दिएको छ ।
महाराष्ट्रमा कोविड १९ का संक्रमितहरु दिन प्रतिदिन बढ्दै गएका छन् । महाराष्ट्र राज्यमा मात्र संक्रमितहरुको संख्या १९ जना थपिएपछि २ हजार ९१६ जना पुगेको बिहीबार बिहान प्राप्त समाचारमा जनाइएको छ । यसैबीच महाराष्ट्रमा २९५ जना निको भएर घर फर्किएका बताइएको छ ।
महाराष्ट्र हालसम्म कोरोना भाइरस संक्रमणबाट १८७ जनाको मृत्यु भईसकेको प्राप्त समाचारमा जनाइएको छ । यसरी भारतका अरु राज्यहरुको तुलनामा महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको देखिएको समाचारमा जनाइएको छ ।
महाराष्ट्रपछि सबैभन्दा बढी विरामी संक्रमित नयाँ दिल्लीमा छन् । नयाँ दिल्लीमा मात्र यसका १ हजार ५७८ जना संक्रमित रहेका छन् । नयाँ दिल्लीमा कोरोना भाइरस संक्रमणबाट ३२ जनाको मृत्यु भईसकेको प्राप्त समाचारमा जनाइएको छ ।
यसैबीच ४० जना भने उपचारपछि घर फर्किएका छन् । यसैगरी यस प्रकोपको प्रभावित भारतीय राज्य तमिलनाडु तेस्रो स्थानमा रहेको छ । तमिलनाडुमा कोरोना संक्रमण भएका व्यक्तिको संख्या बिहीबार १ हजार २४२ जना पुगेको छ । यी संक्रमित मध्ये ११८ जना भने उपचारपछि घर फर्किएका छन् । तमिलनाडूमा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भइसकेको छ ।
राजस्थानमा १ हजार भन्दा बढी कोरोना संक्रमित रहेका छन् । राजस्थानमा १ हजार २३ जना कोरोना संक्रमति रहेका बिहीबार बिहानको प्राप्त समाचारका जनाइएको छ । ती मध्ये १ सय ४७ जना उपचारपछि घर फर्किसकेका छन्, भने तीन जनाको मृत्यु भएको छ ।
त्यसैगरी भारतको मध्यप्रदेश, तेलङ्गना, गुजरात र छत्तीसगलगायतका राज्यहरुमा कोरोनाका संक्रमितहरु भेटिएका छन् ।



