
काठमाडौं, ४ वैशाख । त्रिवि शिक्षण र कान्ति बाल अस्पतालका डाक्टरलाई प्रहरीले कुटपिट गरेको घटनामाथि छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ ।
महाराजगञ्ज प्रहरी वृत्तका डीएसपी उमेश लम्सालसहितका प्रहरी अधिकारीले बुधबार राति डाक्टरहरूमाथि कुटपिट गरेको आरोप छ । घटना बाहिरिएसँगै महानगरीय प्रहरी कार्यालय मेट्रोले एसएसपी किरण बज्राचार्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको डीआईजी विश्वराज पोखरलले जानकारी दिए ।
समितिमा अपराध महाशाखाका एसपी मुकेश सिंह र महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटी सदस्य रहेका छन् । ड्युटी सकेर फर्किरहेका शम्भु खनाल, तेजप्रकाश शाह र विकास शाहमाथि प्रहरीले कुटपिट गरेको आरोप छ । तर, डीएसपी उमेश लम्सालले भने घटनालाई सामान्य असमझदारी भएको बताएका छन् ।
चिकित्सक कुटिएको विषयमा चिकित्सकहरूको छाता संगठन नेपाल चिकित्सक संघले दोषी प्रहरीलाई कारवाही गर्न माग गरेको छ । बिहीबार विज्ञप्ति जारी गर्दै संघले परिचयपत्र देखाउँदासमेत प्रहरीबाट चिकित्सक कुटिनु अक्षम्य भएको जनाएको छ ।
जारी विज्ञप्तिमा संघले काम सकेर कोठा फर्किने क्रममा कान्ति बाल अस्पतालको ओरालोमा चिकित्सकहरूलाई कुटिएको बताएको छ ।



