हुलाकी न्यूज, राजविराज, १ कार्तिक । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका महासचिव मृगेन्द्र सिंह यादवले पार्टी परित्याग गरेका छन् । उनीसँगै सप्तरीका अधिकांस पदाधिकारी र कार्यकर्ताहरुले पार्टी परित्याग गरेका छन् ।

राजविराजस्थित आफ्नै निवासमा आईतबार बिहान पत्रकार सम्मेलन गरी महासचिव यादवसहितकाले फोरम लोकतान्त्रिक परित्याग गरेको घोषणा गरे । स्वायत्त थरुहट–मधेश प्रदेश, जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको निर्धारण, राष्ट्रिय सभामा प्रदेशको जनसंख्याको अनुपातमा सिट निर्धारणका साथै संविधानमा रहेका अन्य थरुहट–मधेश बिरोधी प्रावधानहरुको अन्त्यका लागि जारी आन्दोलनले सार्थक निष्कर्ष प्राप्त गरी नसक्दै आन्दोलनलाई नै समाप्त गर्ने गरी पार्टीले आत्मघाती निर्णय गरेकाले पार्टी परित्याग गरेको महासचिव यादवले बताए ।

पार्टीको केन्द्रिय कार्यसमिति, राजनीतिक समिति, पदाधिकारी समिति लगायत कुनै पनि आधिकारिक अँगको परामर्श वा निर्णय नलिई आफ्नो एकल निर्णयद्वारा थरुहट–मधेश बिरोधी शक्तिसँग गठबन्धन गरी अध्यक्ष विजय गच्छदार उप प्रधानमन्त्री पदमा बहाल समेत भएको सन्दर्भमा आफूसहित कार्यकर्ताहरु मर्माहत भएको पूर्व मन्त्री समेत रहेका यादवले बताए ।

पत्रकार सम्मेलनमा उपस्थित भएका फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष सत्यनारायण यादवले ५१ सदस्यीय जिल्ला समितिका सचिव भोगेन्द्र चौधरी र कोषाध्यक्ष बिन्दु यादवबाहेक सम्पूर्णले एकसाथ पार्टी परित्याग गरेको बताए । उनले क्षेत्रिय समिति, गाउँ समितिका पनि ९० प्रतिशतले पार्टी परित्याग गरेको जानकारी गराए ।

पार्टी परित्याग गरेका मृगेन्द्र सिंह यादवले तत्कालै कुनै पार्टीमा जाने सोंच नरहेको बताउदै मधेश र मधेशीका लागि लडिरहने प्रतिकृया दिए । ‘कुनै पार्टीमा पनि जान सक्छु अथवा छुट्टै पार्टी पनि बनाउन सक्छु’ पत्रकारहरुसँग कुरा गर्दै उनले भने, “तर अहिले कुनै सोंच छैन । पार्टी परित्याग गर्ने अन्य जिल्लाका नेता÷कार्यकर्ताहरुसँग छलफल गरेर मात्रै कुनै निर्णय गर्नेछु ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.