हुलाकी न्यूज, वीरगंज, १ कार्तिक । नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्य तथा संघीय समावेशी मधेशी मोर्चा पर्साका नेता शिव पटेलले काठमाडौं केन्द्रित राष्ट्रिय मिडियाहरुले तीन दलसरह नै अर्को एक दलको रुपमा मधेश आन्दोलन बदनाम गर्न लागिपरेको बताएका छन् ।

प्लास्टिक उद्योग व्यवसायी संघ वीरगंजले आयोजना गरेको एक कार्यक्रममा नेता पटेलले पहाडी मानसिकताबाट ग्रसित नेपालको शाषक वर्ग तथा देशका ठुला दलका नेताहरुको मधेश र मधेशीप्रति हेर्ने दृष्टिकोण र काठमाडौंमा रहेको मिडियको दृष्टिकोण एउटै भएको बताए । नेता पटेलले मिडियाको गलत समाचारकै कारण मधेश आन्दोलनको सफलतामा बिलम्ब भएको जिकिर गर्दै जारी आन्दोलन बिशुद्ध रुपमा अधिकार, पहिचान एवं अस्तित्व प्राप्तीको आन्दोलन भएको बताए ।

उनले मिडियाले मधेशी भावनाविपरित मधेश आन्दोलनलाई बदनाम गरेको, दुई महिना बितिसक्दा पनि आन्दोलनको बारेमा गलत समाचार संप्रेषण गरिरहेकोजस्ता कारणले नै मधेशमा मिडियाहरुमाथि आक्रमण भइरहेको बताउँदै अब मधेश पक्षधर मिडियाको स्थापना हुनु आवश्यक रहेको धारणा राखे ।

मधेशी जनअधिकार फोरम मधेशका राष्ट्रिय अध्यक्ष भाग्यनाथ गुप्ताले जारी मधेश आन्दोलन कुनै पार्टी तथा मोर्चा विशेषको आन्दोलन नभई अब जन–जनको आन्दोलन भईसकेको बताए । उनले मधेश आन्दोलनका बारेमा नेपाली मिडियाले पूर्वाग्रही समाचार प्रशारण गरेको बताए । गुप्ताले मधेश आन्दोलन सहमतिबाट नरोकिने भन्दै संबिधानमा संशोधन नभएसम्म आन्दोलन जारी रहने स्पष्ट पारे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.