
काठमाडौं, २४ चैत । सरकारले लकडाउन बढाउने तयारी गरेको छ ।
आज बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउनको समयावधि बढाउने तयारी गरेको हो । बैठक अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।
बैठकमा कोरोना भाइरसको संक्रमणका कारण जारी रहेको लकडाउन लम्ब्याउने र नियमित विषयमा निर्णय हुने बताइएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले कम्तीमा एक साता लकडाउन लम्ब्याउने तयारी गरेको बताइएको छ ।
सरकारले पहिलोपटक चैत्र ११ गतेदेखि साताव्यापी लकडाउनको घोषणा गरेको थियो । त्यपछि फेरी म्याद थप गरी चैत २५ गते राति १२ बजेसम्मका लागि लम्ब्याइएको थियो ।
पछिल्लो समय सीमा मंगलबार सकिन लागेकाले आजको बैठकले यस विषयमा निर्णय गर्नेछ । गत बिहीबार बसेको समितिको बैठकले पारिवारिकरूपमा खेती–बालीको काम गर्न दिने, राष्ट्रिय गौरवका आयोजनाभित्र काम गर्न दिने गरी केही खुकुलो पार्ने निर्णय गरेको थियो ।
तर, सुदूरपश्चिम प्रदेशमा एकसाथ तीन जनामा संक्रमण देखिएपछि सरकारले थप कडाइका साथ वैशाख ३ गतेसम्म लम्ब्याउने तयारी गरेको बताइएको छ ।
सरकारले बैशाख ३ गतेसम्म अन्तर्राष्ट्रिय उडान रोक्ने निर्णय यसअघि नै गरिसकेकाले सोही अवधीसम्म लकडाउन कायम राख्ने सरकारले तयारी गरेको हो ।



