
एजेन्सी, २१ चैत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार राति ९ बजे बिजुली बन्द गरी दियो बाल्न भारतीय जनतालाई अपिल गरेका छन् ।
प्रधानमन्त्री मोदीले शुक्रबार एक भिडियो सन्देशमा देशवासीलाई सम्बोधन गर्दै आइतबार राति ९ बजे ९ मिनेटसम्म घरको ढोका वा कौसीमा मैनबत्ती, दियो, मोबाइल फ्ल्यासलाइट वा टर्चलाइट बाल्न अपिल गरेका हुन् ।
मोदीले भने, ‘महामारीको क्रममा हामी निरन्तर प्रकाशको बाटोतिर लाग्नुपर्दछ, सबैभन्दा बढी प्रभावित गरीबहरूलाई निराशबाट आशातिर लैजानु पर्दछ ।’ उनले थपे, ‘यो संकटबाट जुन अन्धकार र अनिश्चितता उत्पन्न भएको छ, त्यसलाई प्रकाशतिर अघि बढाउनुपर्छ । महामारीको संकट पराजित गर्न ज्योतिको चमक चारै दिशामा फैलाउनुपर्छ, यसका लागि आइतवार, हामी सबै कोरोना संकटको अन्धकारलाई चुनौती दिनेछौँ ।’
आइतबार १ सय ३० करोड देशवासीको संकल्पलाई एकसाथ नयाँ उचाइमा पुर्याउनका लागि यसो गर्न मोदीले आग्रह गरे । उनले भने, ‘म तपाईंहरू सबैलाई आइतबार ९ बजे केवल ९ मिनेट समय छुट्याउन आग्रह गर्दछु ।
घरभित्रको बिजुली बत्ती सब बन्द गरेर ढोका वा कौसीमा मैनबत्ती, दियो, टर्च वा मोबाइल फ्लाश जरुर जलाउनुहोस् ।’ ‘यस्तो प्रकाशले एक महाशक्ति प्रकट गर्नेछ र त्यसमा यो बत्तीको साथ हामी संकल्प गरौँ–हामी एक्लो छैनौं,’ उनले भने । साथै मोदीले यसका दौरान सामाजिक दूरीको लक्ष्मण रेखा भने कुनै हालतमा पनि पार नगर्न सुझाव दिए ।
सामाजिक दूरी नै कोरोना संक्रमण हुन नदिने एक मात्र रामवाण उपाय रहेको उनको भनाइ छ । कोरोनाको महामारी फैलन नदिन भारतमा अहिले २१ दिने लक डाउन जारी छ । तर पनि कोरोना संक्रमित र सोबाट मृत्यु हुनेको संख्या भने दिनदिनै बढिरहेको छ । भारतमा हालसम्म ७२ जनाको मृत्यु भएको छ भने दुई हजार पाँच सय ६७ जना संक्रमित छन् ।



