हुलाकी न्यूज, काठमाडौं, ३० आश्विन । प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ताका लागि पठाएको पत्रको भाषाप्रति संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुले असन्तुष्टि जनाएका छन् । उनीहरुले वार्ताको लागि आह्वान गर्नु सकारात्मक भएपनि पत्रमा प्रयोग गरिएको भाषाको शैली अनुचित रहेको बताएका हुन् ।
मोर्चाले प्रधानमन्त्रीको पत्रको चाँडै नै जवाफ दिने बुझिएको छ । पत्रमा जारी आन्दोलनका कारण इन्धनलगायतको आपूर्ति असहज हुँदा जनताले दुख पाएको र मुलुकलाई हानी भएको तर्फ सरकारको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
यसैबीच मोर्चाका नेताहरुले सरकारले आन्दोलन रोकेर वार्तामा आउन गरेको आह्वान स्विकार्य नहुने पनि जनाएका छन् । मधेशी मोर्चाले आन्दोलन र वार्ता सँगसँगै लैजाने बताएको छ ।
शुक्रबार प्रधानमन्त्री ओलीले मधेशी मोर्चालाई पत्र पठाएर आन्दोलनका कारण जनजीवन असहज भएको भन्दै आन्दोलन रोकेर वार्तामा आउन आह्वान गरेका थिए ।



