
जनकपुरधाम । कोरोना भाइरस संक्रमण प्रभावित मजदूर, श्रमिक, गरिब तथा आर्थिक रुपमा विपन्न किसानलाई राहत वितरण गर्नका लागि स्थानीय तहहरुलाई प्रदेश सरकारले अनुदान उपलब्ध गराएको छ ।
प्रदेश २ को आर्थिक मामिला तथा योजना मन्त्रालयले महानगरपालिकालाई रु.२५ लाख, उपमहानगरपालिकाहरुलाई रु.२० लाख, नगरपालिकाहरुलाई रु.१५ लाख र गाउँपालिकाहरुलाई रु.१० लाख उपलब्ध गराएको हो ।
प्रदेश २ मन्त्रिपरिषद्को गत १८ गतेको बैठकले कोरोना प्रभावित मजदूर, श्रमिक, गरिब तथा आर्थिक रुपमा विपन्न किसानलाई राहत प्याकेज उपलब्ध गराउने निर्णय गरेको थियो ।
उपलब्ध गराइएको अनुदान रकमका लागि सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यालयमा सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ ।



