हुलाकी न्यूज, काठमाडौं, २९ आश्विन । भदौ २५ गते जनकपुरमा कर्फयू लगाइएको थियो । २५ गते नै संयुक्त मधेशी मोर्चाको ‘चलु जनकपुर, भरु जनकपुर’ अर्थात ‘जाऔं जनकपुर, भरौं जनकपुर’ कार्यक्रम थियो । प्रशासनले मोर्चाको उक्त कार्यक्रम विफल बनाउन नै अकारण जनकपुरमा कर्फयू आदेश जारी गरेको थियो । यता प्रदर्शनकारीले पनि कर्फयू उल्लंघन गरेर भएपनि पूर्वघोषित विरोध कार्यक्रम गरेरै छाड्ने बताएका थिए । उनीहरुले प्रदर्शन शान्तिपूर्ण हुने पनि जनाएका थिए ।
सोही दिनको प्रदर्शनमा प्रहरीको गोलीले दुई बालकसहित तीन जनाको मृत्यु भयो । प्रहरीको गोलीले मृत्यु भएकाहरुमा धनुषा जमुनियाका १४ वर्षीय नीतु यादव, धनुषा महेन्द्रनगरका ३५ वर्षीय सञ्जय चौधरी र धनुषा अरेरवाका १२ वर्षीय दिलिप यादव थिए ।
सो दिन बिहानैदेखि जनकपुरका मुख्य चौकहरुमा प्रहरीले सयौं राउण्ड फायरिंग गरेको थियो । जनकपुरको मिल्स एरियामा पनि हजारौंको संख्यामा प्रदर्शनकारीहरु जम्मा भएका थिए । दिनको करिब दुई बजेतिर १५ जनाजतिको संख्यामा सशस्त्र प्रहरीका जवानहरु त्यँहा आइपुगे । उनीहरुले अश्रुग्याँस प्रहार गर्दै प्रदर्शनकारीलाई तितरबितर पारे । थप १५ जनाजतिको सशस्त्रको टोली त्यँहा आइपुग्यो । त्यसपछि अश्रुग्याँस प्रहार हुनुका साथै एक्कासी गोली पनि चल्न थाल्यो । प्रदर्शनकारीहरु उत्तर र पूर्वतर्फ भाग्न थाले । भागाभाग भएपछि त्यँहीका स्थानीयहरुले प्रदर्शनकारीलाई घरभित्रैबाट पानी खुवाइरहेका थिए ।
एक प्रत्यक्षदर्शीका अनुसार प्रहरीले ‘ठोक ठोक बिहारीहरुलाई’ भन्दै कराउँदै थिए । प्रदर्शनकारीहरु नजिकैका घरमा लुक्न थाले । त्यँहाका स्थानीयले पनि घरभित्र प्रदर्शनकारीलाई लुक्न सहयोग गरे । एक स्थानीयले बताए अनुसार प्रहरीले कुनै चेतावनी बिना नै गोली हान्न थाले ।
प्रदर्शनकारीलाई आफ्नो घरमा लुक्न सहयोग गरेका अर्का एक प्रत्यक्षदर्शीले जनाए अनुसार प्रहरीले घरभित्रै प्रवेश गरी अश्रुग्याँस प्रहार गरेको थियो । उनले भनेका छन्, “प्रदर्शनकारीहरु अश्रुग्याँसले गर्दा आँखा मिचिरहेका थिए । मैले पानी छ्याप्दै थिएँ । त्यँहा रहेका सबै घरवासीले पानी छ्यापेर प्रदर्शनकारीलाई सहयोग गरिरहेका थिए । एउटा प्रहरी टोली आइपुग्यो, शायद डिएसपीले नेतृत्व गरेका थिए । उनले प्रहरीलाई गोली चलाउन आदेश दिए । प्रदर्शनकारीहरु भाग्दै लुक्न थाले । केही मेरो घरमा पनि पसे । करिब ९-१० जनाजति ट्वाइलेटभित्र लुक्न गए । प्रहरीले भित्र खोजी गर्यो, तर कसैलाई फेला पारेन । प्रहरीहरु मेरो घरबाट बाहिरिन थालेपछि प्रदर्शनकारी पनि बाहिर निस्के । प्रहरीले घरभित्रै गोली चलायो । एकजना प्रदर्शनकारीलाई पछाडिपट्टी रबरको गोली लाग्यो र अर्कोलाई पेटमा गोली लाग्यो ।”
प्रहरीले प्रदर्शनकारीलाई सहयोग गरिरहेका स्थानीयमाथि पनि गोली चलाएको थियो । प्रदर्शनकारीलाई घरको कम्पाउण्डभित्रैबाट पानी खुवाइरहेका एकजना स्थानीयलाई पनि प्रहरीले ताकेरै गोली हानेको थियो । प्रदर्शनकारीलाई लुक्ने ठाउँ दिएको भन्दै त्यँहीको एक मन्दिरका बुढा पुजारीमाथि पनि प्रहरीले कुटपिट गरेको थियो ।
त्यही मन्दिरमा लुक्न १४ वर्षीय बालक नीतु यादव पनि पुगेका थिए । उनीसँगै अर्का दुईजना पनि थिए । तिनीहरु लुक्नलाई मन्दिरभित्र हामफाले । मन्दिरमा पुजारीले यहाँ प्रहरीले समात्न सक्ने भन्दै पूर्वपट्टीको झाडीभित्र लुक्न सल्लाह दिए । दुई जना बालक झाडीभित्र लुक्न भागे र अर्का एकजना त्यँही बसे । चार जना प्रत्यक्षदर्शीले जनाएअनुसार झाडीभित्र लुक्ने प्रयास गरिरहेका नीतु यादवलाई प्रहरीले तानेर बाहिर ल्याए । उनलाई भूईंमा पछाडे । एकजना प्रहरीले उनलाई समाते । उनको तिघ्रामा खुट्टा राखे र अर्कोले उनको टाउकोमा गोली प्रहार गरे ।
त्यही दिन प्रहरीको गोलीले सदभावना पार्टीका नेता संजय चौधरीको पनि मृत्यु भयो । उनको पछाडि पट्टी गोली लागेको थियो र छातीबाट निस्केको थियो । जनकपुर अंचल अस्पतालका चिकित्सकका अनुसार चौधरी अस्पताल ल्याइँदा जिवितै थिए । गोली लागेको करिब आधा घण्टापछि उनको मृत्यु भएको थियो ।
जनकपुरमा २५ गते नै प्रहरीको गोली लागि १३ वर्षीय बालक दिलिप यादवको पनि मृत्यु भएको थियो । जनकपुरको पिडारी चौकमा पनि प्रदर्शनकारीहरु भेला भएका थिए । प्रहरीले अश्रुग्याँस प्रहार गरेपछि भीड तितरबितर भयो । त्यसपछि फेरि प्रदर्शनकारी जम्मा भएपछि प्रहरीले बिना कुनै चेतावनी गोली चलाउन थाल्यो ।
एक प्रत्यक्षदर्शीका अनुसार १३ वर्षीय बालक यादव शायद आफ्नो घरतिर जाँदै थिए । अर्कोपट्टीबाट एक हुल मानिसहरु आउँदै थिए । प्रहरीको एक जत्था भ्यानमा थियो । अचानक यादव उछिट्टिए । उनलाई गुडिरहेको भ्यानबाटै गोली हानिएको थियो । उनी उछिट्टिएर करिब २० मिटर पर पुगेका थिए ।
त्यसदिन प्रहरीको गोली लागि अरु धेरै घाईते भए । प्रदर्शनकारीलाई पानी खुवाईरहेका १२ वर्षीय बालक विकास यादवलाई पनि प्रहरीले गोली हानेको थियो ।
नीतु यादवको हत्या गर्ने प्रहरीहरुले मास्क लगाएका थिए । उनीहरुले अश्लिल शब्द प्रयोग गर्दै यादवको हत्या गरेका थिए । यादवसँगै रहेका अर्का एकजनालाई पनि गोली हानेका थिए ।
२५ गतेको घटनापछि स्थानीय प्रशासन र प्रहरीले प्रदर्शनकारी कर्फयू क्षेत्रमा प्रवेश गर्न लाग्दा उनीहरुलाई रोक्न गोली प्रहार गरिएको बताएका थिए । प्रहरीले प्रदर्शनकारीबाट खतरा भएकोले गोली चलाउनु परेको दाबी पनि गरेका थिए ।
ह्युमन राइट्स वाचको प्रतिवेदनमा आधारित



