
काठमाडौं । कोरोनाको सङ्क्रमण विश्वभरि फैलन थालेसँगै सर्वोच्च अदालतले गरेको आदेशानुसार हालसम्म १ सय ६९ कैदी कारागार मुक्त भएका छन् ।
सर्वोच्च अदालतले गत ७ गते एक वर्षभन्दा कम कैद तोकिएका कैदीलाई कारागार मुक्त गर्न आदेश दिएको थियो ।
अरु कैदीबन्दी नियमित रुपमा कैद भुक्तानीपछि छुट्ने भए पनि यी १६९ जना भने अदालतको आदेशानुसार छुटेको कारागार व्यवस्थापन विभागले जनाएको छ । त्यस्तै, विभिन्न जिल्लामा रहेका आठ बालसुधार गृहबाट ११९ बालबालिका छुटेका छन् ।
कारागारबाट आइतबारसम्ममा ५९ जना छुटे । एक वर्षभन्दा कम कैद तोकिएका व्यक्तिहरुले छुट्न चाहने हो भने छुटिपाऊँ भनी कारागार प्रशासनमार्फत निवेदन दिनुपर्नेछ । विभागले विभिन्न कारागारमा बिरामीलाई आवश्यक पर्दा छुट्टै राख्नका लागि क्वारेन्टाइनको समेत व्यवस्था गरेको छ ।
जगन्नाथदेवल (सेन्ट्रल जेल) मा नेपाल रेडक्रस सोसाइटीले १० पाल बिच्छ्याएर २० बेडको व्यवस्था गरेको छ । त्यहाँ १३ जनालाई क्वारेन्टाइन राखिएको छ । जगन्नाथ देवलसँगै अरु कारागारमा पनि क्वारेन्टाइनको व्यवस्था गरिएको छ ।
नख्खु कारागार परिसरमा रहेको मनोसामाजिक अस्पतालमा ‘आइसोलेसन’ शैयाको व्यवस्था गरिएको छ ।
कैदीबन्दी र कार्यरत कर्मचारीलाई कोभिड–१९ को सङ्क्रमण हुन नदिन स्वास्थ्य परीक्षण र उपचारका लागि आवश्यक सामग्रीको माग गरिएको हो । विभागले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि कैदीबन्दीको बाहिरी भेटघाट रोकेको छ ।



