बीपी साह, रौतहट, ३० आश्विन । मधेश आन्दोलन-३ मा घाईते भएका रौतहट अकुलवा बलुवाका मोहम्मद मेहरुदिन मियाँको परिवार गाउँबाट चन्दा संकलन गरेर चल्दै छ ।

शनिबार बिहान मेहरुदिनको घरमा पुग्दा उनको आमाले गाउँबाट संकलन गरेको ९–१० किलो चामल आफ्ना बुहारीहरुलाई खाना पकाउनका लागि दिँदै थिइन् । मेहरुदिनको आमा मेहरुदिनको उपचारको लागि ४ हजार रुपैयाँ ऋण लिन गाउँकै एकजना नेता कहाँ पुगेकी थिइन् । तर तिनले २-३ दिनमा पैसा आउने बताएपछि उनकी आमा रित्तो हात फर्किइन् ।

मेहरुदिनको परिवारमा अहिले ९ जना सदस्य छन् । उनको परिवारको आयस्रोत केही छैन । मेहरुदिन सानोतिनो व्यापार गरेर परिवार चलाउँदथे । तर आन्दोलनमा प्रहरीको गोलीले घाईते भएपछि उनको परिवारको सबै आयस्रोत बन्द भएको हो । आन्दोलनको क्रममा उनको पेटमा लागेको गोली मलद्वार हुँदै निस्केको थियो ।

Maihrudin_rauthat-ghaiete

 

मेहरुदिनलाई उपचारका लागि वीरगंज लगिएको थियो । त्यँहा उनको उपचार सम्भव नभएपछि काठमाडौंको वीर अस्पतालमा उपचार गराइएको थियो । काठमाडौंमा उपचार सकिएको भनेर उनलाई गौर फिर्ता पठाइएको थियो । तर घर आएपछि उनको समस्या थप बल्झिएको छ । निको नभएपछि हाल उनको वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पताल, बेड नं. १०१ मा उपचार हुँदैछ ।

उपचारका लागि आवश्यक ९ हजार रुपैयाँ उनकी आमाले गाउँकै एकजना धोबीसँग ऋण लिएर उनलाई पठाएकी थिइन् । त्यो पैसा अपुग भएपछि शनिबार बिहानैदेखि उनकी आमा फेरि ४ हजार रुपैयाँ ऋण लिन गाउँका विभिन्न व्यक्तिको घरमा पुगेकी छिन् । उनले पैसाको जोहो भएपछि अकुलवाको दमार चौकबाट गाडी चढेर छोरालाई पैसा दिन आफै जाने बताइन् ।

उनको घर बलुवा पुगेर मेहरुदिनको बारेमा कुरा गर्न खोज्दा परिवारका सदस्यहरु रुन थाले । मेहरुदिनको परिवारसँग सम्पतीको नाममा त्यही एउटा घर बनाएको केही धुर जग्गा मात्र रहेको छ । मेहरुदिनलाई भदौ २७ गते आन्दोलनका क्रममा गौरमा प्रहरीको गोली लागेको थियो ।

तस्विर : फाईल फोटो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.