
काठमाडौं । कोरोना भाइरसको परीक्षण तथा उपचारका क्रममा आवश्यक पर्ने करिब १३ टन मेडिकल सामग्री चीनबाट नेपाल ल्याइएको छ ।
यसरी ल्याएका सामग्रीमा नेपाल सरकारले खरिद गरेका, एसियाकै धनाढ्य ज्याक माले सहयोगस्वरूप दिएका र अन्य संघसंस्थाले सहयोग उपलब्ध गराएका मेडिकल सामग्री छन् ।
चीनको ग्वान्झाउबाट १२.६६ टन मेडिकल सामग्री बोकेर विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । विभिन्न १९ थरी ती स्वास्थ्य सामग्री ग्वान्झाउसम्म चिनियाँ विमानबाटै सप्लाइ गरिएको थियो भने त्यहाँबाट नेपाल एयरलाइन्सको विमानबाट आइतबार बिहान साढे ५ बजे त्रिभुवन विमानस्थलसम्म ल्याइएको हो ।
स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) र कोरोना भाइरस परीक्षण किटसहितका अत्यावश्यक स्वास्थ्य सामग्रीको पहिलो लट लिएर विमान चीनको ग्वान्झाउबाट काठमाडौं आएको हो ।
पहिलो चरणमा ल्याइएका ती सामग्रीमा नेपाल सरकार आफैंले खरिद गरेको लगायत चीनको सिचुवान प्रान्त, सिचुवान प्रान्तीय लगानी समूह र चिनियाँ दूतावास, ज्याक मा फाउन्डेसनलगायत संस्थाले नेपाललाई प्रदान गरेका रहेका छन् ।
यसअघि नेपालका लागि चिनिया राजदूत होउ यान्छीले दूतावासको सक्रिय समन्वयबाट सिचुआन प्रान्तीय सरकार, सिचुआन प्रान्तीय लगानी समूह र चिनियाँ दूतावासले सहयोगस्वरूप प्रदान गरेका आपतकालीन स्वास्थ्य सामग्रीहरू ग्वान्झाउबाट प्रस्थान गरिसकेको भन्दै ट्वीटरमा जानकारी गराएकी थिइन् ।

उनले चीनको ज्याक मा फाउन्डेशन र अलीबाबा फाउन्डेशनद्वारा प्रदान गरिएका मास्क, परीक्षण किटलगायत सामग्रीको पहिलो लट पनि उही उडानमा आइपुग्ने जनाएकी थिइन् ।

पर्यटन मन्त्री योगेश भट्टराईले नेपाल एयरलाइन्सको वाइडबडी जहाजमार्फत ती स्वास्थ्य सामग्री आइतबार बिहान साढे ५ बजे त्रिभुवन विमानस्थलमा ल्याइएको जानकारी दिएका छन् । सरकारले करिब सवा एक अर्ब रुपैयाँ बराबरको स्वास्थ्य सामग्री ओबीसीआई प्राइभेट लिमिटेड कम्पनीमार्फत चीनसँग खरिद गरेको हो ।
मन्त्री भट्टराईका अनुसार नेपाल एयरलाईन्सले सामग्री ल्याउँदा लागेको कार्गो बापतको रकम सम्बन्धित कम्पनीहरूले नै तिर्नेछन् । पहिलो लटमार्फत २० हजार थान पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट, २० हजार थान एन ९५ मास्क, १०० थान पोर्टेबल भेन्टिलेटर, २ हजार थाल मोनिटर, २० वटा एबीजी मेसिन र २० वटा भाइरल डिटेक्टिङ पीसीआर मेसिन लगायत सामग्री ल्याइएको छ ।



