काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले धेरै समस्यामा परेकाहरूका लागि न्यूनतम आवागमन खुला निर्णय गरेको छ ।

शुक्रबार बसेको समितिको बैठकले कोरोना संक्रमण फैलिन नदिन लिएको निर्णय र त्यसले जनजीवनमा पारेको प्रभावबारे समीक्षा गर्दै तत्कालका लागि न्यूनतम आवागमन खुला गर्ने निर्णय गरेको हो ।

भारतको कोलकत्ताबाट नेपालको भन्सार बिन्दुसम्म आएर अड्किएका सामान मुलुक भित्र्याउन, खाद्य सामाग्री बोकेका ढुवानीको सामान रोकिएको भन्सार बिन्दुदेखि बजारसम्मको बाटोमा सवारी साधन सञ्चालनका लागि सहजीकरण गर्न, विभिन्न स्थानमा अलपत्र परेका पर्यटकहरूलाई सडकमार्गबाट ल्याउँदा पूर्ण सुरक्षाका साथ ल्याउने र सम्बन्धित देशमा पठाउन प्रयास गर्न तथा कारखाना बन्द भएपछि अप्ठ्यारोमा परेका श्रमिकलाई गन्तव्यसम्म सुरक्षित ढंगले पुर्याउने व्यवस्था मिलाउनका लागि न्यूनतम आवागमन खु्ला गर्ने निर्णय गरिएको अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिए ।

समितिले कोलकोत्ताबाट नेपालको भन्सार बिन्दुसम्म आएर अड्किएका सामानहरू आवश्यक कागज बनाई छुटाउनुका साथै ती सामानहरू उपभोक्तासम्म पठाउने व्यवस्था मिलाउनका लागि सहजीकरण गर्न व्यवसायीलाई आह्वान गरेको छ । समितिले विदेशमा बेखर्ची भएका विद्यार्थीलाई नेपालबाट पैसा पठाउने व्यवस्था मिलाउन वित्तीय संस्थालाई आग्रह गर्नुका साथै एकैपटक भीडभाड हुने गरी बाहिर ननिस्कन र दूरी कायम गरेर अत्यावश्यक वस्तुको किनमेल गर्न सर्वसाधारणलाई अपिल गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.